Sunday, November 10, 2013

बाले खाने डब्बावाल खैनीको सम्झना

त्यतिखेर म त्यस्तै हुँदो हुँ, दस बर्षको. हाम्रा बाको सुर्ती खाने बानी, त्यो पनि डिब्बा वाला. दाई काठमाडौँ बस्ने भाइ सानै उमेरको अनि दिदी घाँस काट्न जानु पर्ने. खैनी किन्ने चैँ मेरो ठेक्का जस्तै थियो. अहिले जस्तो पसल छ्यास-छ्यास्ती थिएन त्यो बेलामा. घरबाट सबैभन्दा नजिकको पसलनै झन्डै एक घण्टा टाढा थियो. गँहु काट्ने बेला थियो, बा ले पैसो दिएर खैनी किनेर ल्याउन अह्राउनु भो. म बेतोडले कुदेँ. अझ बाले यो छोरो कम्ती छिटो कुद्छ, सबैभन्दा छिटो नै यहि हो भनेपछी यस्तो बलले कुदिन्थ्यो कि रोकिए पछि एकछिन त सास फेर्नै गाह्रो हुन्थ्यो. सुर्ती किनेर आउदै थिए, बाटोमा आँपको रुख देखे. दौडनै जस्तै रुख चढ्न पनि म धेरै सिपालु. दुई तिनोटा चुक अमिलो भन्दा नि अमिलो आँप उडाए. बाटोमा एक्कासी लाग्यो, बा ले खाने कुरो कस्तो पो होला. यसो औलाले उधिनेर ओठमा च्यापे पछी बा फटाफट काम गर्थे. काम गर्दा गर्दै लखतरान भएपछि पनि त्यो डब्बामा हात पुर्याउथे. अनि हाम्लाई चैँ आचीपापा खानु हुन्न भन्थे. 
 
यस्तै थ्यो त्यो सुर्ती

 
आजकल त यस्तो आउँदो रेछ
आज जे पर्ला पर्ला यसो चाखि हेर्न पर्यो भनेर टिनको त्यो डब्बा खोले. यसो सुंघेको त यस्तो हरक आयो कि कुरै नगरम. अगि खा’को अमिलो आँप झन्डै आएको थियो मुखबाट. बट्टा बन्द गरेर अलि पर पुगेसी फेरी सम्झे, हाम्रा बा मात्रै हैन स्कुलका अरु सर पनि च्याप्थे. हैन कस्तो र’छ यो चिज आज चैँ खाइ हेर्नु पर्यो जस्तो लाग्यो. अनि यसो दाँयाबाँया बाटोतिर हेरे, कोहि मान्छे देखिन. मौका यहि हो भन्ठान्दै गँहु खेतको डिलमा बसेर बाले जस्तै औलाले च्यापेर आँखा चिम्म पारेर एक डोज ओठमा च्यापे. राखेको मात्रै के थिए, पुरै सँसार घुमाई हाल्यो तिरिमिरि झ्याई पार्दै. अघि खाएको अमिलो आँप मात्र हैन, बिहानको भात पनि निस्कियो. पेटबाट आन्द्रा भुँडी नै बाहिर निस्केला जस्तो भयो, वाकवाक लागेर. बल्लबल्ल भाउन्निदै नजिकैको जरुवामा पुगेँ. मुख खोकले अनि तुईतुई पानी पिए. अलिक राहत महसुस भयो. केहिबेर खेतको आलीमै थच्चिए. अनि एकछिनमा लखर-लखर घर तिर लागे बिस्तारै. अगिको जस्तो कुद्ने सामर्थ्यो भए पो.  त्यो दिन देखि मलाई त्यो डब्बा देख्यो कि भाउन्न भएर आँउथ्यो. अहिले सम्झिन्छु त्यै बेला बाले चुरोस पनि खाने गर्देको भए मलाई यो चु को चै बानी लाग्दैनथ्यो कि.

2 comments:

  1. tyo surti hoina hai amrit ji, sugandhit khaini , bijali sugandhit khaini bhanthe, hamra saila baa le ni khanthe, hwassaaaaaaaa ganaudai

    ReplyDelete
  2. हामी त आची पापा भन्थ्यौ :))

    ReplyDelete