Friday, November 8, 2013

टडक (ट्रक) हेर्ने रहर अनि म


कुरो त्यस्तै चौवालिस साल तिरको हुनपर्छ, त्यतिबेला स्कुलको बार्षिक परीक्षा मँसिरमा हुने गर्थ्यो . असारमा रोपेको मानोलाई मुरी बनाएर भित्र्याउने समय हो यो, त्यसैले चहलपहल पनि धेरै हुन्थ्यो . उतिखेर सबैभन्दा धेरै आम्दानी हुने स्रोत भनेकै धान थियो हाम्रो जस्तो कृषिमा आस्रित परिवारहरुको लागि . त्यसैले मकै र कोदो को ढीडों खाएर धान चै जोगाउदै बेच्ने चलन थियो हाम्रोतिर . आजकल त बिकासे धानहरु आ’का छन् . त्यतिखेर लगाईने भनेको चै किस्नबेलि, कालाकाठे, झिनुवा बासमती, समुन्द्र फिंजी, मार्शी थियो . मन्सुली चाँहि भर्खर भर्खर निस्केको थियो, त्यतिखेको सबसे नयाँ . मँसिरको बार्षिक परिक्षा सकिए पछि स्कुल छुट्टी हुन्थ्यो पुष-माघ सम्मको लागि . पास हुनेले अर्को सालको नया कक्षाको किताब पनि किन्ने र जाडोको पनि ईन्तजाम गर्ने बेला हुन्थयो त्यो . त्यसको लागि आफुले सके जति धान बोकेर बेच्न जान्थ्यौ हामी . सहरेटार अनि आंप्रबजार त्यो बेलाको चलेको बजार थियो हाम्रो, मोटर गाडि त्यहाँ सम्म मात्रै चल्थ्यो भन्थे . आफु जहिले जादा नि बाटो मात्र लम्पसार परेको हुन्थ्यो, गाडि कहिले देख्न पा’को भए पो ! पछि थाहा पाईयो, यो ठाँउ सदरमुकाम बिदुर बाट त्यस्तै २० किलोमिटर पूर्वमा पर्ने रै’छ . मोटर बाटोको बिस्तार सँगै बजार पनि सर्दै गयो . फलस्वरुप त्यो पुरानो बजारको अहिले खासै अस्तित्व छैन .


यो भन्दा नि खत्तम थियो मटर गुड्ने बाटो



आंप्रबजारमा हाम्रो ठुलो फुपुको घर थियो .  मामाघर आउँदा भान्दाई र मेरा एक दुई साथीहरु जैले नि मटर (मोटर) को कुरा गर्थे . यस्तो हुन्छ उस्तो हुन्छ भन्दै नानाथरिका बखान गर्थे .  तर आफुले चै देख्न पाएको थिएन . अत्ति नै भएपछि त्यो बर्ष चै मलाई पनि मटर हेर्ने रहर लाग्यो . अनि बल्ल घरमा बा नभएको मौका पारेर म फुपूको घर लागे . बा कामले काठमाडौ शहर लागेकाले मैले छुट्टि पाए फुपूको घरमा बस्ने . अब यसपाला चै जसरी भएनि मटर हेर्ने धोको पुरा हुने भयो भनेर खुशिले दङ्ग थिए . मैले नदेखेनी यस्तो होला भन्ने सोचेको मटरलाई तिनिहरुले टडक भन्दा रै’छन . आज आउला भन्यो छैन, भोलि आउला भन्दा छैन . चार दिन बित्न लागि सक्यो तै पनि त्यसको अत्तोपत्तो थिएन . टडक देख्न नपाए पनि मैले तेस्ले बनाको दुइतिरको खाल्डो बाटो भरि दिनभर सयौ पटक ओहोर दोहोर गरे . बाटोको छेउमा राखेको थोत्रो टायर हेरेर अनेक कल्पना गरे . घर फर्कने अन्तिम रात खाना खाएर भान्दाई र म बार्दलीमा सुत्न लागेका थियो

 
यस्तै थियो मैले देखेको ट्रक



 एउटा बिशाल जिनिस रंगीचंगी बत्ति बालेर उताबाट हाम्रै घर तिर आयो .  भान्दाईले लौ टडक आयो भन्दा म यस्तरी चिच्याको थिए फुपु आत्तिएर आउनु भयो के भयो भनेर . भित्तामा माईलाले माउसुली देखेछ आमा त्यहि भएर चिच्याएको भाइ भन्दिनु भयो भान्दाईले . नत्र आफ्नो कत्रो बेईज्जत हुन लागि सकेको थियो . अनि भान्दाई र म बिहानै टडक हेर्ने जाने सल्लाह भयो . बिहान उजेलो हुने बित्तिकै भान्दाई र म कुलेलाम ठोकेर त्यो भए ठाउमा पुगेम . आम्ममा कत्रो ठुलो थियो त्यो भने अजङ्गको . भान्दाईको काकाले त्यो बेला धान जोख्थे त्यो लिन आ’को रैछ . उनको सिफारिशमा बल्ल बल्ल छुन पाएको टडकमा चढ्न पनि पाईने भईयो . पहिले खलासीले पिर्लिक्क आँखा पल्टाउदै थियो . पछि त उसलाई जिल्लाउदै ड्राईभरको सिट पछाडी गएर बसियो . कस्तो रमाईलो भयो भने नैतिक शिक्षा पढाउने सरले भन्ने गरेको स्वर्ग यहि हो कि जस्तो लाग्योत्यसपछि फुपुले पस्किदिएको दुई गाँस भात पनि राम्रो सँग नखाएर म बेपत्ता कुदे घरतिर . अरु बेला साथि नभई हिड्न आँट नआउने डेढ घण्टा जति लाग्ने बाटो छोरोले एकै सासमा सकायो . टडक चढेको गफ जो साथीहरुलाई सुनाउनु थियो . त्यसदिन देखिको मेरो रेकर्ड अर्को दुई बर्ष कसैले तोडेन .  

0 comments:

Post a Comment