Wednesday, September 11, 2013

पिपलमेठ काफलगेडी अनि ग्लुकोज बिस्कोट उर्फ हाम्रो पापा

मेरा पाँच ओटी फुपू दिदि अनि पाँच ओटै मामा म यो कुरोमा धनी डाहा गर्थे मेरो साथीहरु जसको मामा नि एउटा दुइटा अनि फुपू नि एउटा दुइटा। म र मेरो भाइ कति खुशी हुँदै हाम्रो घरमा नातेदार आइदिए नि हुन्थ्यो भन्थ्यौ किनकी नातेदार आउँदा खाली हात नआउने केहि न केहि पापा ल्याउथे त्यो बेलाको सबैभन्दा चलन चल्तीको पापा चैँ उही पिपलमेठ अनि अलि माथि उक्लियो भने नेबिकोको ग्लुकोज बिस्कुट। 


पिपलमेठ काफलगेडी त यसो पैसो चोर चार गर्या बेला नि खाइन्थ्यो तर बिस्कोट खान त कुर्नै पर्ने फुपू , मामा, भानिजबा, भान्दाई , ठुलोबा। आफैले किनेर खाने भनेको त उही दशैको बेला मामाले टिका लाएर देको दक्षिणाले। तर यो मामलामा म भाई भन्दा अलि भाग्यमानी मलाई औशी पुर्ने संक्रान्तिमा मामाघरमा बाउन खान बोलाउथे र टिका लार पैसो दिन्थे किनकी तेतिखेर मैले जनै लगाइसकेको थिए। अनि पैसो गन्दै देखाउने भाइलाई अनि छिमेकी अरु भुरालाई पैसो त त्यै हो एक रूप्पे तर कति चोटी गनिन्थ्यो साध्य छैन। आजसम्म नि मलाई त्यो नेबिको ग्लुकोज बिस्कोट र अरु चैँ बिस्कुट जस्तो लाग्छ। एक चोटी घरमा माइली फुपू आउनुभयो। ढोगभेट र सन्चो बिसन्चोको भलाकुसारी पछि कुरो आयो पापाको दिदीले भाइहरुलाई भनेर एउटा र अर्को चैँ हजुरआमालाई त्यो दिन दुइटा ग्लुकोज बिस्कोट ल्याको रेछ। अब कतिखेर हजुरआमाले दिने हो भन्ने मात्रै ध्यान भो हाम्रो। बल्ल बल्ल दिए त्यो बिस्कोट त्यै पनि दुइटा कम्ता मिठो हुने हो र आफ्नो भाग खाइयो। भोलिपल्ट धेरै कोशिस पछि भेटियो अर्को ग्लुकोज अब पर्यो आपत कहाँ लुकेर खाने बल्ल बल्ल एउटा जुक्ति फुर्यो अनि गए बुइंगल तिर चोरेको कुरो अलि अलि मिठो होइन खाइयो अनि लुसुक्क खेल्न हिडियो। फर्केर आउँदा त घरमा बा आका रेछन। अरु आए पो खुशी हुनु आफ्नै बा आउँदा पापा ल्याउने हैन के को खुशी हुनु त्यै पनि कैले काइ घर आउथे हाम्रा बा अरु किताब नचिने पनि राता गाता भाको किताब चैँ चिनिन्थ्यो अनि एउटा चैँ हाम्लाई किताबको गाता हाल्ने चिप्लो पान्ना भाको सचित्र चिन भन्ने पत्रिका। तर हजुरआमाले यो चोटि पनि धर्म छोड्नु भएन बिस्कुट मैले नै चोरेको भन्ने थाहा पाएर नि बालाई भन्नु भएन र बचियो कुटाइ खान बाट। बिस्तारै पापाको परिभाषा फेरियो अब चुइगम बरफ कोक चैँ पापा जस्तो लाग्न थाल्यो याँहा सम्म त ठिकै थियो राजधानीको बसाई एक दुइ जना मित्रहरुले भैंसीको मासु हालेको मोमोको डल्लो पो पापा हो त भन्न थाले तर आफुलाई त त्यसको गन्ध नै मन नपर्ने रत्नपार्कमा हिड्दा त्यो ह्वार्र 



मोमोको बाफ नि गनाउथ्यो बिस्तारै पिठो मात्रै खा भित्रको मासु हामी खान्छु भन्दै बानी लगाए जनै लगाको त्यहाँ माथि बाहुनको छोरो सुरु गरियो भैंसीको मासु खान सुरुमा त झन्डै बान्ता भाको थियो बिस्तारै बानी लाग्यो तात्तातो डल्लो अमिलो अचारमा चोपेर क्वाप्ल्याक्क खाँदा के को जनै अनि जात सम्झिनु घरमा त कसले भन्न सक्थ्यो र खान्छु भनेर झन्डै दस बर्ष खाएँ हुँला तेस्पछि एकचोटी आँखीझ्यालमा हो कि के मा हो भैंसीको मासु काटेको र ओसारपसार गरेको हेरेपछि खाने दुस्साहस गरिएन।

0 comments:

Post a Comment